५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद एवम विदेशमामिला जानकार डा. राजन भट्टराईले भारतले नाकाबन्दी लगाउने जस्तो गैरजिम्मेवार र अपरिपक्व नीति लिन्छ जस्तो आफूलाई नलागेको बताएका छन ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले लोकतान्त्रिक प्रक्रियाबाट शसस्त्र समूहलाई शान्तिपूर्ण मुलधारमा लिएर अगाडि बढ्दा छिमेकी भारतको पछिल्लो अभिव्यक्ति अस्वाभाविक रहेको बताए । नेपाल र भारतमा अतिवादी शक्तिहरु उदाउन खोजीरहेको अवस्थामा त्यस्तो शक्ति उदाउँदा दुबै मुलुकको हित नहुने चेतावनी समेत उनले दिए ।
भट्टराईले नेपालमा भारतका केही चासो रहेकोले त्यसलाई नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर संबोधन गर्नु पर्ने धारणा व्यक्त गरे ।
भारतको पछिल्लो विज्ञप्तिमा आएका कुरा स्वयम भारत, नेपाल र दक्षिण एसियाको शान्तिको हितमा नभएको धारणा उनले व्यक्त गरे ।
चीनकालागि पूर्व नेपाली राजदुत राजेश्वर आचार्यले नेपालमा यत्रो ठूलो प्रजातान्त्रिक प्रयोग भएकोमा भारतले बधाई नदिई आपत्ति जनाएको प्रति विरोध गरे । विश्वमा महाशक्तिको रुपमा उदाएको मुलुक भारतले छिमेकीसँग साना तिना कुरा गर्नु अनुपयुक्त भएको टिप्पणी गरे । भारतको
पछिल्लो व्यवहार परिपक्व कुटनीतिक नभएको तर्क उनले गरे । भारतले घुर्कीको भाषा प्रयोग गर्नु अनुचित भएको धारणा उनले व्यक्त गरे । दार्जिलिङ, मिजोरम, कास्मिर जस्तो भारतको आन्तरिक मामिलामा नेपालले कहिल्यै नबोलेको भन्दै आचार्यले नेपालको आन्तरिक मामिलामा भारतले किन बोलेको भनी प्रश्न गरे ।
अमेरिकाकालागि पूर्व नेपाली राजदुत डा. शंकर शर्माले भारतको नराम्रो कुरा आउनु कसैको हितमा नभएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा भारतलाई पनि राम्रो नगर्ने विश्लेषण गरे ।
अन्तिम बेलामा भारतीय प्रधानमन्त्रीको विशेष दुत नेपाल आउनु राम्रो नभएको भन्दै अब नेपालले नचुकीकन कुटनीतिक पहल गर्नु पर्ने अवश्यकता उनले औल्याए ।
भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले नेपालको दृष्टिकोणमा भारतको विज्ञप्ति उचित नभएकोले यो अनौठो कुरा भएको बताए ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले तराई मधेसका समस्या समाधान गर्नु पर्छ भनेर नेपालीले भन्नु पर्ने कुरा भारतले भनेको भन्दै नेपालले आफ्नो समस्या सुल्झाए भारतको समस्या आफैं समाधान भएर जाने दावी गरे ।











