३ असोज, वीरगंज । नेपालको संविधान जारी भएपछि अराजक समूहले वीरगंजमा पत्रकारहरुमाथि आक्रमण गरेको छ । वीरगंजमा कहिल्यै नदेखिएका मानिसहरुले पत्रकाहरुको समूहमाथि नै आक्रमण गरेका छन् । क्यामेरा बोकेका, प्रेस कार्ड भिरेका र प्रेसको ज्याकेट लगाएका सबै मानिसमाथि अराजक समूहले आइतबार एकसाथ आक्रमण गरेको थियो । संविधान जारी गर्ने समयमा विरोधका लागि भएको प्रदर्शनका दृश्यहरु खिचेका संचारकर्मीहरुमाथि अज्ञात समूहले आक्रमण गरेको त्यहाँ कार्यरत पत्रकाहरुले बताएका छन् ।
आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार अजित भुजेल र राजेश पटेलको उपचार नारायणी अस्पतालमा भैरहेको छ । उनीहरु स्थानीय पत्रिकामा आबद्ध पत्रकार हुन् । आक्रमणबाट एभिन्युज टेलिभिजनका पत्रकार राजु श्रेष्ठ, नेपाल वान टेलिभिजनका पत्रकार नरेश सर्राफ लगायत दर्जनौं पत्रकार सामान्य घाइते भएका छन् ।












