२ असोज, काठमाडौं । संविधान जारी गर्ने समारोहमा राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्ने निश्चित भएको छ । यसअघि उनलाई सम्बोधन गर्न नदिने गरी कार्यक्रमको तयारी भइरहेको समाचार सार्वजनिक भएका थिए। तर राष्ट्रपति यादवले असन्तुष्टी जनाएका कारण कांग्रेसको दवावमा उनलाई सम्बोधन गर्ने व्यवस्था मिलाइएको हो ।

समारोहमा राष्ट्रप्रमुखलाई सम्बोधन गर्न नदिने तयारीको आलोचना भएपछि राष्ट्रपतिलाई सम्बोधन गर्न दिने कार्यक्रम बनेको स्रोतले जनाएको छ।
राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठ आइतबारै बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि मात्रै राष्ट्रपतिले सम्बोधन गर्ने छन्।
संविधान घोषणा समारोहमा राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्नेछन्।
सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको अन्तिम पृष्ठ अर्थात् पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नेछन्।











