२ असोज, काठमाडौं । संविधान निर्माणमा एकजुट भएका प्रमुख तीन दलले असन्तुष्ट पक्षका माग सम्बोधन गर्न लचिलो भई वार्तामा बस्ने निर्णय गरेका छन् । नयाँ संविधानबाट जनताको अधिकार स्थापित भएको भन्दै मधेसी जनताको घर दैलोमा पुग्ने प्रतिबद्धता समेत तीन दलले गरेका छन् । तीन दलले आज वालुवाटारमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले मधेसी जनताको माझमा पुगेर संविधानका उपलब्धिबारे जानकारी गराउने बताए । पत्रकारहरुको प्रश्नमा एमाओवादी अध्यक्ष प्रचण्डले आफू आफ्नो निर्वाचन क्षेत्र सिराहा गएर जनतालाई संविधानको उपलब्धिबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।
तीन दलले असन्तुष्ट पक्षलाईसमेत लचक भएर वार्तामा आउन आह्वान गरेका छन् । बैठकले कसैको दबाबमा पनि संविधान घोषणा गर्ने काम नरोकिने समेत स्पष्ट पारेको छ ।
आइतबार घोषणा हुने संविधानले अधिकांश जनताको माग सम्बोधन गर्ने ठहर गर्दै आजै बसेको तीन दल बैठकले यसलाई ऐतिहासिक उपलब्धीका रुपमा स्वीकार गर्न सबै पक्षलाई अपील समेत गरेको थियो ।
यसैबीच तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भारतीय विदेश सचिव एस जयशंकरको नेपाल भ्रमणका विषयमा समेत समीक्षा भएको थियो ।












