१ असोज, भक्तपुर । भारतीय प्रधानमन्त्रीका विशेष दूत एस जयशंकरले एमाले अध्यक्ष केपी ओलीसँग २ घण्टा वार्ता गरेका छन् । जयशंकरले सामुहिक र दुई जनाको मात्रै अलग अलग छलफल गरेका छन् । सामुहिक छलफलमा एमालेबाट ओलीसँगै प्रमुख सचेतक अग्नि खरेल थिए । भारतीय पक्षबाट विशेष दूत जयशंकरका साथै राजदूत रन्जित रे, भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र दूतावासका उच्च अधिकारी विनकुमार र गोपाल कृष्ण सहभागी थिए ।

मोदीका विशेष दूतले नेपालको पछिल्लो अवस्थामा प्रधानमन्त्रीको चासो सुनाउँदै संविधान निर्माणका सन्दर्भमा के भएको हो भनेर ओलीसँग बुझ्न खोजेका थिए ।
ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढि प्रतिनिधिको सहभागिता र ८५ प्रतिशत भन्दा बढिको समर्थनमा संविधान पारित भएको बताएका थिए । ओलीले संविधान जारी हुने बेलासम्म ९५ प्रतिशत नघाउने दावी गरेका थिए । ओलीको संकेत फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको मोर्चाप्रति थियो ।
एमाले अध्यक्ष ओलीले संविधान पारित भएपछि जनता दिपावलीमा लागेको र सिंगो देशले खुसी मनाइरहेको बताएका थिए । उनले धेरै प्रयत्न गर्दा पनि केही दल संविधान निर्माण छाडेर आन्दोलनमा लागेको र त्यसबाट मानवीय क्षति भएको भन्दै उचित मागलाई संविधान जारी भएपछि पनि सम्बोधन गर्ने ठाउँ रहेको बताए ।
भेटमा नेपालको संविधान जारी हुन लागेकोमा जयशंकरले भारत सरकारको तर्फबाट खुसी प्रकट गरेको भेटमा सहभागी नेता अग्नि खरेलले बताए । खरेलका अनुसार जयशंकरले असहमत रहेका दलहरुलाई पनि सहभागी गराउन सकेको भए झनै राम्रो हुने बताएका थिए ।
आजै नेपाल आएका भारतीय विदेश सचिव जयशंकरले आफ्नो विशेष भेटघाट नै एमाले अध्यक्ष ओलीबाट शुरु गरेका हुन् ।
भेटका अवसरमा जयशंकरले कस्तो संविधान जारी गर्ने र कोको सहभागी हुने भन्ने आन्तरिक मामिला भएकाले भारतले कुनै सल्लाह नदिने तर, नेपालको शान्ति र स्थिरताप्रति भारत चिन्तित रहेको बताएका थिए ।











