१ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका विशेष दूतलाई मोदी सरकारले बेवास्ता गरेको छ । नेपालमा संविधान जारी हुन लागेको र सत्ता हेरफेरको घडीमा भारत सरकारसँग थप सद्भाव बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बिशेष दूत’ बनेर आएका एमाले सचिव प्रदीप ज्ञवालीले पूर्व तालिकाअनुसार दिल्लीमा विदेशमन्त्री र गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्न पाएनन् ।
भेटको लागि समय नमिलेपछि ज्ञवाली शुक्रबार बिहान काठमाडौं फर्किएका छन् । छोरीको अस्वस्थताका कारण देखाउदै विदेशमन्त्री सुषमा स्वराजले ज्ञवालीसँग भेट नगरेको स्रोतले बतायो । ज्ञवालीले दिल्लीमा सरकारी तहमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र विदेश सचिव एस जयशंकरसँग मात्रै भेटवार्ता गरेका थिए ।
ज्ञवालीसहित एमाले विदेश विभाग सदस्य युवराज बाँस्कोटा पनि दिल्ली गएका थिए । उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार स्वदेश फर्किएका हुन् । ज्ञवाली र बाँस्कोटा मंगलबार दिल्ली गएका थिए ।












