३१ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले नयाँ संविधान घोषणाको दिनलाई उत्सवका रुपमा मनाउन सबै कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

महासचिव कृष्णबहादुर महराले विहीबार वक्तव्य निकालेर असोज ३ गते दीपावली गर्न र त्यसको भोलिपल्ट हुने संयुक्त सभालाई सानदार रुपमा सम्पन्न गर्न अपिल गरेका हुन् ।
थारु, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम लगायत जनताका भावना र मागलाई सम्वोधन गर्ने संकल्पको दस्तावेज नयाँ संविधान भएको दावी एमाओवादीले गरेको छ । महासचिव महराले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाभिमानको विजयका रुपमा आत्मसाथ गर्न सम्पूर्ण जनतालाई अनुरोध समेत गरिएको छ ।











