३१ भाद्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मुल्य मान्यता र आदर्श प्रति प्रतिबद्ध रहंदै नेपालको संविधान २०७२ लाई आलोचनात्मक समर्थन गर्ने बताउनु भएको छ । बिहीवार पार्टीको केन्द्रिय कार्य सम्पादन समिती गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले संविधान सभाबाट पारित नयाँ संविधानको कतिपय अन्तरवस्तुहरुमा राप्रपा नेपालको गम्भीर असहमती रहेको समेत बताउनु भयो । उहाँले पार्टीले उठाउँदै आएको प्रमुख माग सनातन हिन्दुराष्ट्र, संबैधानिक राज संस्था र स्थानीय स्वायत्त शासन प्रणालीलाई नयाँ संविधानमा स्थापित गर्न नसकेको भन्दै आफनो सिद्धान्तको पक्षमा मतदान गर्दा राप्रपा नेपाल गौरवानवित महसुस गरेको छ ।

त्यस्तै, उहाँले मधेश र थरुहटहरुले उठाएको माग जायज रहेको भन्दै वार्ताको माध्यम बाट उचित माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । उहाँले भन्नु भयो, सत्तामा रहेका दलहरु पहिले सहमती गरेको विषय पनि कायान्वयन नगर्ने अनि लोकतान्त्रीक परिपाटी पनि नअपनाउने हुनाले मधेश र थरुहट आन्दोलित भएको बताउनु भयो ।
उहाँले हिन्दु राष्ट्रको विपक्षमा एक ठाँउमा उभिएर कांग्रेस, एमाले र एमाओवादीले अत्यन्त ठुलो घुल गरेको भन्दै यसले नेपालीको राष्ट्रिय पहिचान संकटमा पर्ने तथा धार्मिक द्धन्दमा देश फस्न सक्ने खतरा रहेको बताउनु भयो । उहाँले संविधान निमार्णको अन्तिम समयमा मधेश केन्द्रित राजनैतिक दलहरुले संविधान सभाबाट अलग हुने अवस्था सिर्जना गरेको भन्दै तत्काल उनीहरुलाई मुलधारमा समेटनु पर्ने धारणा व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमा राप्रपा नेपालको केन्द्रिय कार्य सम्पादन समितिले ७ बुदें निर्णय सार्वजनिक गरिएको थियो ।











