नरेश सर्राफ /वीरगन्ज ३० भदौ
जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध कारोबार र चोरी घटनामा संलग्न ६ जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्सा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरीे प्रतिबन्धित लागूऔषध ओसार पसार तथा चोरीका घटनामा संलग्न रहेको अभियोगमा वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरिएका अभियुक्तहरुलाई आज सार्वजनिक गरेको हो ।
प्रतिबन्धित लागु औषध ओसार पसारमा संलग्न काठमाण्डौ वडा नम्बर ३२ का मनिष श्रेष्ठ, झापा दमक घई भई हाल ललितपुर बस्दै आएका दिपक श्रेष्ठ र सुनसरी धरान घर भई काठमाडौ वडा नम्बर ३३ बस्दै आएका युविन शाक्यलाई सार्वजनिक गरेको छ ।

सिमावर्ती शहर भारतको रक्सौलबाट लागु औषध डाइजोपाम २ सय पिस, फेनारगन २ सय पिस, नुर्फिन २ सय पिस र स्पास्मो ट्यावलेट १६ पिस खरीद गरी बा ११ च ९३३० नम्बरको कारमा लुकाई छिपाई वीरगन्ज भित्रियाई काठमाण्डौ तर्फ लगिरहेको अवस्थाबाट बसपार्कबाट तिनै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । तिव्र गतिमा गाडी लगिरहेको अवस्थामा प्रहरीलाई शंकालागेपछि चेकजाच गर्दा सो लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता होमेन्द्र वोगटीले बताए ।
यसैगरी वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १३ निवासी गोपाल कादमियाको घरबाट १० दल रुपैया मुल्य बराबरको गरगहना लगायतको समान चोरी गरेको अभियोगमा प्रहरीले वीरगन्जका तीन जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी दिपक गोसाई, लालबाबु गोसाई र उपेन्द्र गोसाईलाई नियन्त्रणमा लिएको प्रवक्ता वोगटीले बताए । उहाले कादमियाको घरबाट चोरि गरिएको ४२ थान सुनका र ८४ थान चादीका गर गहना पक्राउ परेको अभियुक्तको साथबाट बरामद गरिएको प्रवक्ता वोगटीले बताए ।

उहाले चोरी गरेको गर गहनाहरु आफनो घरको छतमा फुल रोपिएको गमलामा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारिएको बताउनु भयो । गत सोमबार राती अभियुक्तहरुले कफ्र्यु लागेको मौका छोपी घरमा कोही नभएको बेला कादमियाको घरमा पसी लाखौं मूल्य बराबरका सुनचाँदीको गर गहना सहित १० लाख नगद रुपैया चोरी भएको पिडित गोपाल कादमियाले बताए पछि प्रहरीले उनीहरुको साथबाट नगद बरामद नभएको दावी गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले विभिन्न मालबस्तु भन्सार छली भित्र्याएको आशंकामा ६ वटा मालबाहक ट्रक र ४ लाख मुल्य बराबरको भंसार छली भित्रयाएको कपडा आफनो नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । वीरगन्ज भन्सारबाट जाँचपास भएको ना ३ ख४९५२, ना ३ ख १२०१, ना ३ ख ४८६९, ना ३ ख८४७८ र ना २ ख ७१०९ नम्बरको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।













