३० भदौ, काठमाडौं । आज तीजको दिनमा पशुपतिनाथको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले उचित व्यवस्थापन मिलाएको दावी गरेको छ । सहज दर्शनका लागि विहान ३ बजेदेखि राति ८ बजेसम्म चार वटै ढोका खुल्ला राखी दर्शन व्यवस्था मिलाइएको छ । छिटोमा आधा घण्टादेखि ढिलोमा चार घण्टाभित्र दर्शन गर्नसक्ने व्यवस्था मिलाएको कोषले जनाएको छ । छिटो दर्शन गर्न चाहनेका लागि शुल्कको व्यवस्था गरिएको छ ।
वनकाली भुवेनेश्वरी, मित्र पार्कलगायतका स्थानबाट लाइन लागेर २५ मिनेटको अवधिमै दर्शन गर्न पाइने व्यवस्था कोषले मिलाएको छ । मन्दिर क्षेत्र वरपर पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाइएको छ ।
सुरक्षाको लागि नेपाल प्रहरी सशस्त्र प्रहरी खटाइएको छ भने विभिन्न स्थानमा सीसीटिभी राखिएको छ । वृद्ध, शारीरिक अशक्त भएका दर्शनार्थीलाई प्राथमिकतापूर्वक सहज दर्शनको व्यवस्था समेत कोषले गरेको छ । जुत्ता–चप्पलको लागि बज्रघर, कैलास दक्षिण र भुवनेश्वरीमा व्यवस्था मिलाइएको छ भने पार्किङको व्यवस्थापन पनि सही ढंगले मिलाइएको जनाइएको छ ।
हरितालिका तीजको दिन मन्दिर दर्शनका लागि यस पटक पनि तीन वटा लाईनको मात्र व्यबस्था मिलाईएको छ ।
वनकाली, चार शिवालय, पंचदेवलपूर्व वज्रघर दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै जयवागेश्वरी भुवनेश्वरी फलामे पुल पश्चिम सानो ढोकावाट मन्दिर प्रवेश गर्ने दोश्रो लाइनको व्यबस्था मिलाइएको छ भने मित्रपार्क गौरीघाट उमाकुण्ड दक्षिणामा रुद्रगाडेश्वर बासुकीबाट मन्दिर प्रवेश गर्ने तेश्रोलाई मिलाइएको विकास कोषले जनाएको छ ।












