२९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले असोज ३ गते नेपालको संविधान सार्वजनिक गर्ने विशेष समारोहमा सबै मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने बताएका छन ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले छोटो समयमा निम्तो गर्दा मित्र राष्ट्रबाट उच्च प्रतिनिधि आउन समय नमिल्न सक्ने भएकोले कुटनीतिक रुपमा अनुकलता हेरेर निर्णय गर्ने बताए । संविधान सार्वजनिक गर्ने विशेष समारोहमा हाम्रा सबै मित्र राष्ट्र कुटनीतिक नियोगका मिसन प्रमुखहरुको उपस्थिति रहने उनले बताए ।

नेपाली जनताको सार्वभौमिकता स्थापना गर्ने लोकतान्त्रिक विधिबाट संविधान जारी हुने भएकोले सबै मित्र राष्ट्रहरुको सकारात्मक भावना रहेको दावी गर्दै मन्त्री पाण्डेले यसको प्रमाणस्वरुप सबैले खुशी ब्यक्त गर्ने क्रम सुरु भईसकेको बताए ।
संविधानसभामा मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुको बहुमत रहेकोले र मधेसी मुलका मात्रै अहिले १३० सभासदको उपस्थिति रहेकोले जारी हुने संविधानमा मधेसको पनि अपनत्व हुने मन्त्री पाण्डेले दावी गरे ।
पाण्डेले यो वर्ष संयूक्त राष्ट्र संघ स्थापनाको ७० औं र नेपाल त्यसको सदस्य भएको ६० औं वर्षगाँठ परेकोले यो पटकको साधारण सभाको महत्व विशिष्ट भएकोले मुलुकको कार्यकारी प्रमुखले नै बैठकमा नेतृत्व गर्नुपर्ने धारणा समेत उनले व्यक्त गरे ।
नयाँ बन्ने संविधान, राजनीतिक सहमति र प्राविधिक कुराका आधारमा कस्ले नेतृत्व गर्ने भन्ने विषयको एक दुई दिनमै निर्णय हुने जानकारी उनले दिए ।











