२९ भदौं, महोत्तरी महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागि मृत्यु भएका ६ जनाको शवयात्रा आज सम्पन्न भएको छ ।आज सदरमुकाम जलेश्वरमा आयोजना गरिएको शव यात्रामा हजारौको संख्यामा स्थानियवासीको सहभागिता रहेको थियो । महोत्तरीमा गत बुधबार आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका जलेश्वर नपा ७ का रोहन चौधरी, महोत्तरी ५ का रामविवेक यादव, जलेश्वर १४ का अमित कापर तथा विरेन्द्र विच्छा तथा शुक्रवार मारिएका हातिलेटका रामशिलादेवी ठाकुर तथा जलेश्वर ७ का गणेश चौधरीको शवलाई नगरको विभिन्न भागमा शव यात्रा निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सिमित समयको लागि कर्फ्युमा छुट दिएपछि गत बुधबार र शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएका ६ जनाको शवयात्रा एकसाथ सम्पन्न भएको हो । शव यात्रामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष अनिल झा, महोत्तरी क्षेत्र नं। ३ का स्वतन्त्र सभासद चन्देश्वर झा लगायत मधेशी मोर्चाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जिल्ला अस्पताल जलेश्वरबाट शुरु भएको सो शवयात्रा जिरो माइल, खैरा चोक, ओमशान्ति भवन, साहुजी टोल, शंकर चौक हुदै नगरपालिका चौकमा आई सम्पन्न भएको थियो । मृतकको शव परिवारजनले पैतृक गाँउमा लगेर दाहसंस्कार गर्ने गरिएको छ ।












