२९ भदौ, काठमाडौं । मधेसी र थारुहरुले विहारमा शरणार्थी शिविर बनाएर शरण लिन जाने भनी मधेसकेन्द्रित दलका नेताहरुले धम्क्याएका बेला थारु नेताहरुले भने थारु जाति आफ्नै भूमिमा बसेर लड्ने बताएका छन् । थारुहरुले संविधान घोषणाको आंशिक समर्थन गर्दै थप अधिकार प्राप्तिका लागि लड्ने पनि उनीहरुले बताएका छन् ।
थारु नेता तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यष राजकुमार लेखीले संविधानका धारा पारित भइरहँदा थारु आन्दोलनका अधिकांश माग सम्बोधन भएको बताए । धर्म निरपेक्षता कायम गर्ने, संवैधानिक थारु आयोग र समावेशी समानुपातिक व्यवस्था राख्न सहमत हुनु सकारात्मक भएकोले संविधानलाई समर्थन गर्ने बताएका छन् ।

लेखीले अब थारु समुदायको असन्तुष्टि प्रदेशहरुको सीमांकनमा मात्र बाँकी रहेको प्रष्ट पारे ।
नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लालाई पहाडबाट अलग गरेर प्रदेश मिलाउने र कैलाली कन्चनपुरलाई थारु विशेष संरक्षित क्षेत्र राख्ने कुरामा थारु आन्दोलनकारी सहमत हुन सक्ने उनले संकेत गरे । ‘वार्तामा बसेपछि शत प्रतिशत माग कसैका पूरा हुँदैनन्, त्यसमा लेनदेन हुन्छ’ उनले भने ।
मधेस आन्दोलनकारी तथा थारु आन्दोलनकारीहरु सीमापारि भारतका गाउँमा शरणार्थी हुन लागेको र विहारमा शरणार्थी शिविरसमेत बनाउन लागिएको कुरा आपत्तिजनक भएको समेत उनले बताए ।











