संविधान सभामा नयाँ संविधानको विधेयक पारित प्रारम्भ भएकै दिन पारेर देशको समसामयिक सन्दर्भलाई समेटेर लोकप्रिय स्रष्टा तथा कलाकारहरुको गीत सार्वजनिक गरिएको छ ।
देश टुक्राउन दक्षिण सिमानातिर भएको अराजक क्रियाकलापका बीचमा भएको संविधानका धाराहरु पारित भैरहेका बेला संचारमाध्यमहरुमार्फत सार्वजनिक भएको गीतमा ठीक त्यस्तै शब्द राखिएको छ । नेपाललाई धर्म निरपेक्ष राष्ट्र नै राख्ने भनी गरिएको व्याख्यासँग समेत यो गीतका शब्द मेल खाएका छन् ।
संविधानमा पारित भएको धर्म निरपेक्षतासम्बन्धि व्याख्यामा भनिएको छ ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’
ठीक यही कुरालाई प्रतिविम्बित गर्दै गीतमा भनिएको छ :
जमाना फेरिए पनि मेटिन्न हाम्रो चिनारी
हिमाल पहाड तराईका देशभक्त हामी नेपाली ।
यस्तो राष्ट्रिय गीतका शब्द रचना गरेका हुन् गीतकार क्रन्दन चापागाईले । उनका शब्दमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका हुन् भने चर्चित गायिका अञ्जु पन्त र चर्चित गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । समसामयिक अवस्थाको चित्रण गरिएको गीतकार चापागाईले बताए ।
काठमाडौं र नगरकोट लगायतका क्षेत्रमा गीतको छायांकन गरिएको यो गीतमा चर्चित अभिनेत्री झरना थापाले अभिनय गरेकी छिन् । उनलाई साथ दिएका छन् बालकलाकार आख्यान चापागाईले । त्यस्तै बीबी बोहरालगायतका दर्जनौं कलाकारले यसमा अभिनय गरेका छन् ।
गीतमा समाविष्ट केही शब्द यस्ता छन् :
स्वतन्त्र देश मेरो लोकतन्त्र मान्छु
जन्मभूमि जोगाउन बलिदान दिन्छु ।
माथिका पंक्तिमध्ये स्वतन्त्र देश मेरो लोकतन्त्र मान्छु पुरुष स्वरमा रहेको र दोस्रो पंक्ति महिलाको रहेको छ । राष्ट्रलाई समस्या परेको अवस्थामा गीतका माध्यमबाट सानो योगदान दिन आफूहरुले राष्ट्रिय गीत निर्माण गरेको निर्माण पक्षले दावी गरेको छ । देश टुक्राउनेसम्मको धम्की आइरहेका बेला यो गीतले हरेक नेपालीलाई एक हुन आह्वान गरेको दावी समेत गीतको निर्माण पक्षले गरेको छ ।
हेर्नुहोस् म्युजिक भिडियो :












