२८ भदौ, काठमाडौं । नेपालको नयाँ संविधान २०७२ असोज ३ गते जारी हुने भएको छ ।
असोज ३ गते साँझ ५ बजे संविधानसभा भवानबाट नयाँ संविधान जारी गर्ने तय भएको संविधानसभाका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
संविधान राष्ट्रपति डा. रामवरण यादवबाट जारी हुनेछ । यसका लागि सोमबारै सभाध्यक्ष सुवास नेम्वाङ संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई लिएर राष्ट्रपति डा. रामवरण यादवलाई संविधान जारी गर्ने निम्तोपत्र दिएका छन् ।

संविधानसभामा अहिले संविधानको परिमार्जिति विधेयकमाथि दफावार मतदानकोक्रम चलिरहेको छ । मतदानमार्फत् संविधान विधेयकको धाराहरु पारित भइरहेका हुन् ।
योक्रम सकिएपछि संविधानको विधेयकमा सभासदहरुले हस्ताक्षर गर्नेछन् । त्यसपछि सभाध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ प्रमाणित गर्नेछन् भने राष्ट्रपति यादवले नयाँ संविधान लागू भएको घोषणा गर्ने सचिवालयले जनाएको छ ।











