२७ भदौ, काठमाडौं । आन्दोलनरत मधेसी दलका नेताहरूले तत्काल औपचारिक वार्ता हुने सम्भावना नदेखिएको बताएका छन् ।
सेना फिर्ता र विगतका सम्झौता कार्यान्वयन गर्ने पक्षमा सरकार नरहेकाले वार्ताको वातावरण नबनेको उनीहरूको भनाइ छ । संघीय समाजवादी फोरमका नेता अशोक राईले वार्ताका लागि प्रक्रिया रोकिएको भन्दा पनि छल गर्न खोजेकाले तत्काल वार्ता हुने सम्भावना नदेखिएको बताए।
अहिलेकै अवस्थामा वार्ताको सम्भावना नदेखिएको बताउँदै राईले नेताहरूबीच टेलिफोन वार्ता भएको उल्लेख गरे । तर, त्यो प्रगतिउन्मुख हुन सकेको उनले प्रष्ट पारे । वार्ताका लागि पहिलो सर्त नै सेना फिर्ता रहेको उनको भनाइ छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्ताको वातावरण नबनेका कारण आन्दोलनको विकल्प नभएको दाबी गरे । ‘सरकार सेना फिर्ता गर्न तयार देखिएको छैन र मधेसीको मागप्रति गम्भीर पनि देखिँदैन,’ त्रिपाठीले भने, ‘त्यसकारण अहिले नै वार्ता होला भन्ने लागेको छैन ।’ तर, वार्ताबाट समाधान खोज्न पार्टी अध्यक्ष महन्थ ठाकुरसहितका नेता काठमाडौं पुगेको र अनौपचारिक वार्ता भएको त्रिपाठीले जानकारी दिए । अनौपचारिक वार्ताबाट ठोस परिणाम आउने सम्भावना नदेखिएको उनको भनाइ छ ।












