२५ भदौ, काठमाडौं । देशको दक्षिणी सीमा क्षेत्रमा अराजक प्रदर्शन गरेर संविधान निर्माण रोक्न नसकेपछि भारतीय राजदुतमार्फत नयाँ चलखेलको कसरत भएको छ । देशले नयाँ संविधान पाउन लागेपछि सीमा क्षेत्रमा प्रदर्शन उग्र बनाउन विदेशी शक्ति लागिपरेको आरोप लागिरहेका बेला नेपालका लागि भारतीय राजदुत रञ्जित रेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । रेले शुक्रबार विहानै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटेर संविधान निर्माण प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
रेकै आग्रहमा शुक्रबार बसेको तीन दलीय बैठकले आइतबारसम्मका लागि प्रक्रिया स्थगित गरेको बताइएको छ । तर आफ्नो दलका अध्यक्ष ओलीले भारतीय राजदूतसँग भेटेकोमा उनकै दलका मधेसी सभासद् तथा नेताहरुले भने आपत्ति जनाएका छन् । सभासद् रञ्जु झा लगायतका सभासद्ले ओलीले भारतीय राजदुत भेट्नु र प्रक्रिया रोक्नु गलत भएको बताइन् ।
एमाओवादीभित्र पनि प्रचण्डलाई रेले भेटेको विषयमा आलोचना भएको छ ।
संविधान नचाहने तत्वले तराई मधेस क्षेत्रमा उत्पात मच्चाउन खोजेको र नसकेपछि भारतीय राजदुतमार्फत नेताहरुलाई दबाब दिन खोजको प्रष्ट भएको छ ।












