२५ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्दा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । खेलाडीहरुसँग पैसा लिएर विदेश पठाउने व्यक्तिलाई सदस्य सचिव बनाएको र त्यसमा आफ्नो पदीय दायित्व पूरा नगरेको भन्दै अख्तियारले मन्त्री पौडेलमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो ।
‘राष्ट्रिय खेलकुदका कार्यक्रममा र राखेपमा भएको अनियमिततामा उहाँले पदीय दायित्व पूरा नगरेको देखिएकाले कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको छ’ अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १२ ख अनुसार उहाँमाथि कारबाही गर्न भनेका छौं ।’ अख्तियारले पौडेलमाथि अनुचित काम गरेकाले कारबाही हुनुपर्ने ठहर गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषदमा भएको अनियमिततामा पदीय दायित्व पुरा नगरेको भन्दै पौडेललाई कारबाही गर्न अख्तियारले निर्देशन दिएको पुष्करले बताए।











