२५ भदौ, जनकपुर । मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वरमा शुक्रबार बिहान कुटपिट गरी गम्भीर घाइते बनाइएका नेपाल प्रहरीका एक असईलार्इ उपचारका लागि लाने क्रममा फेरि आक्रमण गरेर हत्या गरेका छन् ।
ड्यूटीमा नरहेका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई मोर्चाका कार्यकर्ताले शंकर चोकमा बसिरहेका विकलाई नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्याएका थिए । उनलाई थप उपचारका लागि जलेश्वरको ६६।१।१२३५ नम्बरको एम्बुलेन्समा राखी जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविसका आन्दोलनकारीले उनीमाथि आक्रमण गरेका थिए ।
कुटपिटपछि टाउकोमा गहिरो चोट लागेका विकको जलेश्वर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
टाउकोमा मात्रै १८ वटा टाँका लगाइएका बिकलाई एम्बुलेन्समा जनकपुर लैजाने क्रममा मोर्चाका कार्यकर्ताले महोत्तरी गाविसको सनोखरामा घरेलु हतियारसहितले आक्रमण गरी लखेटेर हत्या गरेका हुन् ।
जनकपुर–जलेश्वर सडकबाट एम्बुलेन्सलाई जान नदिएपछि बिकलाई ग्रामीण बाटोबाट लगिएको थियो । मूल सडकबाट लाँदा पनि लखेटेपछि ग्रामीण सडकबाट एम्बुलेन्स जनकपुरतर्फ गएको थियो ।
ग्रामीण बाटोबाट लाने क्रममा पनि मोर्चा कार्यकर्ताले एम्बुलेन्सलार्इ लखेटेका थिए । होत्तरी गाविस(८ सनोखरामा पुगेपछि घेरेर धावा बोली एम्बुलेन्सबाट निकालेर लखेटी लखेटी असर्इ विकको हत्या गरिएको हो ।
अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविस – ८ सनोखराको वनको बाटोमा स्थानीयवासीले एम्बुलेन्स रोकी उनलार्इ बाहिर निकालेर लाठी प्रहार गरी हत्या गरेका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताए ।
असर्इ विकलार्इ हत्या गरेपछि आन्दोलनकारीले एम्बुलेन्स पनि जलाइदिएका छन् । असई विकको हत्या गरी सडकभन्दा डेढ किलोमिटर पूर्व धान खेतमा फालिदिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए ।
असईको हत्यापछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुको नेतृत्वमा ठूला सङ्ख्यामा प्रहरी पुगेका छन् । उनको शव जलेश्वर ल्याउने तयारी भइरहेको जनाइएको छ ।
ुएम्बुलेन्स सोनउख्रामा आइपुगेको अवस्थामा चारैतिरबाट धावा बोलेछन्, दुर्इ सुरक्षाकर्मी र ड्रार्इभर ज्यान बचाउन भागेको देखियोु, घटनास्थलमा पुगेका सशस्त्र प्रहरी उपरीक्षक शरद रानाले भने, ‘गम्भीर घाइते बिकलार्इ एम्बुलेन्सबाट निकालेर लखेटी लखेटी हत्या गरेको पाइयो । उनलार्इ घरेलु हतियारले पनि आक्रमण गरेका रहेछन् ।’
एम्बुलेन्समा आक्रमण गरेपछि त्यसमा सवार दुईजना प्रहरी र चालक सम्पर्कबिहीन भएका छन् । मोर्चाका कार्यकर्ताले एम्बुलेन्समा आक्रमण अवरोध गरेपछि गम्भीर घाइते विकको सोही स्थानमा ज्यान गएको हो ।
मोर्चाका कार्यकर्ताले अस्पताल पुग्न नदिई असईको बाटैमा ज्यान गएपछि सोनउख्रामा अहिले सशस्त्र प्रहरी उपरीक्षक शरद रानाको नेतृत्वमा सयौंको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
असई विकको शव एम्बुलेन्सबाट करिब आधा किलोमिटर टाढा धानखेतमा भेटिएपनि दुईजना प्रहरी र एम्बुलेन्स चालकको अवस्थाबारे केही खुल्न सकेको छैन ।
असर्इ मारिएपछि महोत्तरीको अवस्था अहिले तनावग्रस्त बनेको छ । आज बिहान करिब ८ : ३० बजेतिर असई विकलाई आन्दोलनकारीले जलेश्वरको शङ्करचोकमा कुटपिट गरी घाइते बनाएका थिए ।
सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ ।











