२५ भदौ, काठमाडौं । संविधानको विधेयकमा दफाबार छलफल गरी मतदान गर्न निर्धारित मितिको अघिल्लो दिन बिहीबार एमाओवादीले त्यसलाई स्थगित गरी आन्दोलनरत दलहरूसँग वार्ता गर्न सत्ताधारी कांग्रेस र एमालेलाई दबाब दिने निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अन्योलपूर्ण बन्न पुगेको छ।
बिहीबार अपराह्न बसेको एमाओवादी केन्द्रीय पदाधिकारी बैठकले केही दिनका लागि मतदानसहित जारी प्रक्रिया रोकी आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिने निर्णय गरेको हो।
एमाओवादीको सोही निर्णय अनुसार शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रक्रिया रोकी वार्ताको पहल गर्न प्रस्ताव गरेका छन् ।
संविधानको विधेयक २०७२ माथि संशोधनसहितको दफाबार छलफल शुक्रबार सकिँदैछ। दफाबार छलफलको अन्त्यमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कर्याक्रम छ।












