२४ भदौ, काठमाडौं । जनताबाट सीमित मत पाएका मधेसकेन्द्रित दलहरुले मधेसी जनताको माग र भावनाको दुरुपयोग गर्ने खतरा बढेको एमाले नेता तथा लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले बताएका छन् । नेपालदेश डटकमसँग कुराकानी गर्दै महासेठले मधेसमा यतिवेला भएको प्रदर्शनमा केही मधेसकेन्द्रित दलका नेताहरुले उभिएर भाषण गर्दै आफ्नो दुरुपयोग गर्ने कोसिस गरेको बताए । मधेसी जनताले अधिकारका लागि स्वतःस्फूर्त आन्दोलन गरिहेको ठाउँमा नेताहरु गएर उभिएर भाषण गर्दा जनताले भाषण नगर नभन्ने भएकोले मधेसी नेताले मौकाको फाइदा उठाउन खोजेको उनले दावी गरे । जनताले स्वतःस्फूर्तरुपमा गरेको आन्दोलनलाई दुरुपयोग गर्ने खतरा समेत मधेसी दलबाट भएको उनले दावी गरे ।
अहिले मधेसमा भएको प्रदर्शनमा मधेसकेन्द्रित दलका कार्यकर्ता न्युन रहेको र त्यसमा स्वतन्त्र जनता, एमाओवादीका कार्यकर्ता, कांग्रेस कार्यकर्ता र आंशिक रुपमा एमालेका समेत कार्यकर्ता रहेको महासेठले उल्लेख गरे । एमाओवादीका मधेसी नेताले काठमाडौंमै पत्रकार सम्मेलन गरेर आन्दोलनमा जाने निर्णय गरेकोले एमाओवादी कार्यकर्ता प्रदर्शनमा रहेको उनले प्रष्ट पारे ।
सिमांकन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मागहरु जायज रहेको भन्दै महासेठले संविधान निर्माण प्रक्रिया भने रोक्न नमिल्ने बताए । ६ वर्षसम्म रोकिएको संविधान जारी गर्न अझै पनि ढिलो गरेमा २०४६ सालपछिका सबै उपलब्धि गुम्ने उनले उल्लेख गरे ।












