२४ भदौ, काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर एउटा त्यस्तो रहस्यमय तान्त्रिक मन्दिर हो त्यहाँ सबैलाई प्रवेश दिइँदैन । त्यहाँभित्र के छ भन्ने कुरा पूजारीलाई मात्र थाहा हुन्छ । पूजारीले अरु कसैलाई भन्न हुँदैन भन्यो भने अनिष्ट हुन्छ भन्ने मान्यता छ । शान्तिपुरमा जबर्जस्ती पस्ने शाहवंशीय राजा रणबहादुर शाहको आँखा फुटेको बताइन्छ । रणबहादुर शाह पूर्व राजा ज्ञानेन्द्र शाहका पूर्खा भएको सबैलाई अवगत नै छ । रणबहादुर शाहका दुवै आँखा फुटेको र भाकलपछि पहिलेजस्तै भएको कथा स्वयम्भूका पूजारी बाबुराजा बद्धाचार्य यसरी बताउँछन :
‘कान्छी महारानीको मृत्युले रणबहादुर शाह बहुलाहाजस्तै भएका थिए । उनी रिसाएर काठमाडौंका सबै मठमन्दिरमा गएर दिशापिसाब गर्ने, भत्काउने जस्ता काम गर्न थाले । यसै क्रममा शाह स्वयम्भूको शान्तिपुरमा समेत आइपुगे र जबरजस्ती भित्र पस्न खोजे । पूजारीले अनष्टि हुन्छ भनेर रोक्न खोज्दा पनि केही लागेन । जब उनी जबरजस्ती भित्र पसे उनका दुवै आँखा फुटे । आँखा फुटेपछि राजा रणबहादुर अत्तालिएर गल्ती भएको भनेर माफी माग्दै सुनको असर्फी चढाउने भाकल गरे । त्यसपछि उनको एउटा आँखा ठीक भयो । उनले फेरि अर्को असर्फी चढाउँछु भनी भाकल गरे । त्यसपछि उनको अर्को आँखा पनि ठीक भयो ।’
यो घटनापछि सरकारले हरेक वर्ष शान्तिपुरमा वर्षको दुईपल्ट असर्फी चढाउने गर्दछ । अहिले पनि गुठी संस्थानले वर्षको दुईपल्ट शान्तिपुरमा सुनको असर्फी चढाउने गरेको छ ।
राजा प्रताप मल्लका र शान्तिपुरको शक्तिबारेको अर्को कथा छ । प्रताप मल्लका पालामा देशमा सुख्खा लाग्यो । वर्षा नभएपछि हाहाकार मच्चियो । त्यसपछि राजा प्रताप मल्लले स्वयम्भूको प्रतापपुरमा गएर शान्तिपुरमा पस्ने दिक्षा लिए । दिक्षा लिएपछि प्रताप मल्ल शान्तिपुरमा पसे । त्यहाँभित्र रहेको नवनागको रगतले लेखिएको तान्त्रिक विद्याको पुस्तक ल्याएर आकाशतर्फ देखाए । तब वर्षा भयो ।
यस्तो प्राचीन र रहस्यमय मन्दिर वैशाख १२ गतेको भूकम्पले तहसनहस पारेको छ । पुनःनिर्माणका लागि दुई करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिए पनि निर्माणको सुरुवात भएको छैन ।













