२३ भदौ, काठमाडौं । एकीकृत माओवादीका नेता गोपाल किरातीले संविधान जारी गर्नेवित्तिकै संशोधन गरेर आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सकिने बताएका छन् । नेपालदेश डटकमसँग कुराकानी गर्दै किरातीले सहमति हुने नाउँमा संविधान निर्माण प्रक्रिया रोक्न भने नहुने बताए । सहमतिका नाउँमा देशले संविधान पाउन नसक्ने भएपछि दुई तिहाइको प्रक्रियामा जानुपरेको उनले उल्लेख गरे । सहमति नभएको खण्डमा दुई तिहाइले संविधान जारी गर्नुपर्ने प्रावधानअनुसार नै संविधान जारी गरेर आजसम्मका उपलब्धि रक्षा गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गर्नकै लागि संविधान जारी गर्न आवश्यक भएको भन्दै सहमति भए जारी भएको भोलिपल्ट नै पनि संशोधन गर्न सकिने किरातीले बताए ।
भूकम्पले तहसनहस भएको देशको अर्थतन्त्र माथि पुर्याउने अवस्थामा बन्द हड्ताल तोडफोड गरेर देशको अर्थतन्त्र धराशायी नबनाउन समेत किरातीले आन्दोलनरत पक्षलाई आग्रह गरे । भूकम्पले क्षति नपुर्याएको अवस्था भएको भए संविधानका नाउँमा अझै केही समय विताउन सकिने तर यतिवेला विदेशी सहयोग पाउनका लागि पनि विश्वास जित्नुपर्ने अवस्था भएकोले संविधान जारी गर्नुको विकल्प नभएको धारणा उनले व्यक्त गरे ।












