२२ भदौ, काठमाडौं । जनकपुरमा मंगलबार दिनभर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा तीन दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । मधेसी मोर्चाका धनुषा जिल्ला संयोजक परमेश्वर शाह र सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय सिंहको अवस्था गम्भीर रहेको पत्रकार सुवास कर्णले जानकारी दिए ।
निषेधाज्ञा तोड्ने प्रयास गर्दै प्रदर्शनकारीले दिउँसो भानुचोकमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । त्यस्तै केही सेल अश्रु ग्याँस समेत प्रहार गरेको जनाइएको छ ।
जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
प्रहरी र आन्दोलनकारीबीच जनकचोक, रामचोक र शिवचोकमा साँझसम्म झडप जारी रहेको पत्रकार कर्णले जानकारी दिए । झडपको समाचार खिचिरहँदा प्रहरीले आफूमाथि समेत लाठी प्रहार गरेको र क्यामेरा समेत हराएका कर्णले नेपालदेश डटकमलाई बताएका छन् ।











