२२ भदौ, काठमाडौं । संविधानसभाको बैठकमा संविधानको संशोधित मस्यौदामाथि सभासदहरुले संसोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकमा संशोधित मस्यौदामाथि बिभिन्न दलका सभासदले ब्यक्तिगत र सामूहिक रुपमा दर्ता गराएको संसोधन प्रस्ताव संबन्धित सभासदले प्रस्तुत गरेका छन् । मस्यौदामाथि ब्यक्तिगत तथा सामूहिक गरी ५४ वटा संसोधन प्रस्ताव पेश भएको छ ।
त्यसअघि विधेयक दफाबार छलफलका लागि पेश गर्दै मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले संविधानसभाबाटै समाधान खोज्न सभासद्हलाई आग्रह गरेका थिए ।
भदौ मसान्तभित्रै संविधान जारी गर्ने तयारी भए पनि संविधानसभा सचिवालयले दफावार छलफल गराउने समयसीमा र पारित गर्ने अन्तिम दिन तोकेको छैन । दफावार छलफलमा भाग लिने सभासदको संख्या, संशोधन प्रस्ताव र विधेयकका धारा पारित गर्दा हुने सहमति र असहमतिको वातावरणले संविधान जारी गर्ने समयसीमा केही दिन वरपर हुनसक्ने सचिवालयले जनाएको छ ।











