सुर्खेत र कर्णालीमा आन्दोलन हुँदा सम्बोधन हुने मधेसमा आन्दोलन हुँदा किन सम्बोधन नहुने ?
२२ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक औपचारिकरुपमै संविधानसभाबाट बाहिरिएको छ ।
मंगलबार सिंहदरबारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभा अध्यक्ष सुुवास नेम्वाङलाई पत्र बुझाएरै संविधानसभाको प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केहीदिन संविधानसभाको प्रक्रिया रोकेर आन्दोलन पक्षसँग सहमति खोज्न तीन दलका नेताको ध्यानाकर्षण गराए । सभाध्यक्षलाई बुझाइएको पत्रमा ठूला तीनदलको ‘पुरानो माइन्डसेट’ का कारण संविधानसभा छाड्ने अवस्था आएको उल्लेख छ । संविधानसभामा संशोधन प्रस्तावमाथि छलफल हुने दिन फोरम लोकतान्त्रिकले संविधानसभा प्रक्रियाबाट अलग हुने निर्णय गरेको हो । अब आफूले उठाएको मुद्दा सम्बोधन नभएपछि संविधानसभामा नजाने फोरम लोकतान्त्रिकले बताएको छ । फोरम लोकतान्त्रीकको पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले अरुको ज्ञापनपत्र बुझ्दा धन्यवाद दिए पनि यो पकट नसक्ने बताए । तीनदलका नेताहरुलाई ध्यानाकर्षण गराउने भन्दै सभाध्यक्ष नेम्वाङले तीन दल वा अन्य सभासदले राखेको संशोधनबाट निकास दिने बाटो हुन सक्ने बताए ।
कर्णाली र सुर्खेतमा आन्दोलन गर्दा सम्बोधन गर्ने तर, थारु मधेसी, जनजातिलगायतले आन्दोलन गर्दा सम्बोधन नभएको भन्दै फोरम लोकतान्त्रीकका अध्यक्ष गच्छादाररले संबिधानसभा भित्र बस्नुको कुनै अर्थ नरहेको बताए ।
प्रमुख तीन दलले आफूखुशी अगाडि बढेको भन्दै केही दिन अगाडि फोरम लोकतान्त्रिकले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको थियो । फोरम लोकतान्त्रिकले आफैंबाट विभाजित भएको दल शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिलाई लिएर मोर्चा गठन गरेको हो । फोरम लोकतान्त्रिकले १६ बुँदे सहमतिअनुसारको आठ प्रदेश बनाउनु पर्ने माग गर्दै आएको छ ।












