२२ भदौ, दाङ । दाङमा मंगलबार मध्यरातबाट दङ्गाग्रस्त क्षेत्र घोषणा समाप्त हुँदै छ । भदौ सात गते कैलाली घटना भएपछि राति ८ बजेदेखि दाङलाई पनि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले आज राति १२ बजेपछि दंगाग्रस्त क्षेत्र घोषणा सकिने जानकारी दिनुभयो । अहिलेसम्म अर्काे कुनै निर्देशन नआएकोले आज मध्यरात पछि दङ्गाग्रस्त क्षेत्र हट्ने निश्चित भएको हो ।
प्रमुख जिल्ला अधिकारी पौड्यालले जिल्लामा शान्ति सुरक्षाको अवस्थापनि सामान्य रहेको जानकारी दिँदै शान्ति सुरक्षाको अवस्थाबारे प्रशासन सजग रहेको जानकारी दिनुभयो ।
यसैबीच, थरुहटरथारुवान संयुक्त संर्घष समितिलगायतका विभिन्न जातिय संगठनहरुले आह्वान गरेको दाङ बन्दको प्रभाव जिल्लाका मुख्य बजारहरुमा कम मात्रै देखिएको छ। मंगलबार बिहानैदेखि तुलसीपुर, बिजौरी, नारायणपुर र घोराहीमा बजार अधिकांस खुलेको छ। तुलसीपुर–घोराही, तुलसीपुर –सितलपुर, तुलसीपुर–हापुरे र तुलसीपुर–सल्यान रुटमा आंशिक रुपमा सवारी साधन सञ्चालनमा आएको प्रहरीले बताएको छ।
दाङको देउखुरी क्षेत्रमा भने बन्दको पूर्ण प्रभाव परेको छ। दाङ देउखुरीको लमही, भालुवाङ, गढवा लगायतका बजारहरु बन्द छन्। त्यहाँ यातायातका साधन पनि सञ्चालनमा आउन सकेका छैनन्। संघीय सिमाङ्कनको विषयलाई लिएर दाङमा साउन २७ गते यता निरन्तर बन्द हुँदै आएको छ ।
तुलसीपुर– घोराही क्षेत्रमा शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आएका देखिन्छन् तर लमही क्षेत्रमा भने साउन २७ गते यता एक दिनपनि शैक्षिक संस्थाहरु खुल्न सकेका छैनन् ।

आफना मागहरु सम्वोधन नभएको भन्दै थारु समुदाय लगायत अन्य जातिय समुदायले दाङमा फेरी सोमबारदेखि बन्दको आह्वान गरेका हुन् ।
आफ्ना माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै थारु, मधेशी र जनजाति समुदायले संयुक्त रुपमा बन्दको आह्वान गरेका छन् । सभासद एवं फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले दंगाग्रस्त क्षेत्र हटेलगतै दोस्रो दिनदेखि विद्यालय सञ्चालनमा ल्याउन दिने बताएका छन् ।
यसैबीच वीरगंजमा आज दुई पटक गरी सात घण्टा कर्फयु हटाइएको छ । स्थानीय प्रशासनले लगाएको कर्फयु आज अपरान्ह ४ बजेदेखि सात बजेसम्मका लागि हटाइएको हो । त्यस्तै आजै विहान नौबजेदेखि एक बजेसम्मका लागि चार घण्टाका लागि कर्फ्यु हटाइएको थियो ।











