२१ भदौ, काठमाडौं । मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा भएका आन्दोलन हिंस्रक बन्नुमा आन्दोलनरत दल र सुरक्षाकर्मी दुवै पक्ष जिम्मेवार रहेको मानवअधिकारकर्मीले दावी गरेका छन् ।

अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जन सहितको अधिकारकर्मीहरुको टोलीले ति जिल्लामा गएर अनुगमन गरेर रिपोर्ट तयार पारेको बताए । केही दिन पहिले वीरगंजमै कार्यक्रम गरेर सुरक्षाकर्मीले दमन गरेको बताएका उनीहरुले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उही कुरा दोहोर्याए ।
ह्युमन राइट काउन्सिलका अध्यक्ष तुलसी थापाले तराईमा मानवअधिकारको उल्लंघन भएको भन्दै त्यसको न्यायिक छानविन गरेर दोषीमाथि कारवाही गर्न माग गरे । पीडितलाई तत्काल क्षतिपूर्ति दिनु पर्ने माग थापाले गरे।
आन्दोलनकारीले ५० लाख रुपैयाँ दिन्छु भनेकोले तराईको आन्दोलन हिंस्रक बनेको समेत दिनेश त्रिपाठीले बताए । यसको राजनीतिक समाधान खोज्न उनीहरुले आह्वान गरेका छन् ।











