१९ भदौ, वीरगंज । भदौ १४ र १५ गते वीरगंजमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शव यात्रासहित दाहसंस्कार गरिएको छ । कर्फ्र्यु तोड्दै दुई दिनसम्म वीरगंजमा गरेको प्रहरीको गोली लागेर वीरगंजको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार, बाराको प्रसौनी ८ नौतन बहुअरीका जयप्रकाश प्रसाद तेली र दिनानाथ साह गोढको मृत्यु भएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट मृतक पाँच जनाको शव पाँच वटा गाडीमा राखेर निकालिएको शवयात्राले नगर परिक्रमा गरेको थियो । शव यात्राका क्रममा हजारौं मानिसहरु सहभागी थिए । शवयात्रामा सहभागी हुन गाउँगाउँबाट मानिसहरु वीरगंज आएका थिए । शव यात्राका मृतकहरुको गाउँ पुग्दा आफन्तहरुले रुवावासी गर्दै विलौना गरेका थिए ।
सबै मृतकको तिलवो नदीमा सामुहिक दाहसंस्कार गरिएको छ ।
वीरगन्ज नगर क्षेत्रमा कहि कतै पनि सुरक्षाकर्मीहरु देखिएका छैनन् । मृतकलाई सहिद घोषणा गरेर परिवारलाई १० लाख दिन स्थानीय सुरक्षा समितिले सरकारलाई सिफारिश गरेपछि सबै मृतकको शवयात्रा गरी सामुहिक दाह संस्कार गर्न आन्दोलनरत दलहरु सहमत भएका थिए ।
हेर्नुहोस् शवयात्राको भिडियो :













