१९ भदौ, काठमाडौं । बाग्लुङ जिल्ला टुक्राउने निर्णय सच्चाउन माग गर्दै धौलागिरीका सभासद्ले आज राजधानीमा प्रदर्शन गरेका छन् । वाग्लुङ लगायत धौलागिरी अञ्चलका १७ जना सभासदको नेतृत्वमा आज माइतीघरदेखि नयाँ वानेश्वरसम्म र्याली प्रदर्शन गरियो ।
उता जिल्लामा भने बाग्लुङ टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् ।

बागलुङ टुक्राएको विरोधमा नागरिकहरु सडकमा सुतेर विरोध प्रर्दशन गरेका हन् । बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिश्चितकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला र पुरुष बागलुङ बजारको सडकमा सुतेका थिए । लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा सुतेका हुन् ।
‘समग्र बागलुङ’ लाई प्रदेश नं ४ मा राख्न माग गर्दै कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र पत्रकार महासंघ लगायतका संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।
यसअघि आन्दोलनकारीले शुक्रवार अर्धनग्न जुलुस र बिहीबार साङ्ले जुलुस लगायतका बिरोधका कार्यक्रम गरेका थिए । बाग्लुङ टुक्र्याउन नहुनेमा पर्वतवासीले समेत साथ दिएका छन् ।
‘
बाग्लुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड टाँसेर उनीहरु पल्टिएका थिए ।
निरन्तरको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले सवारी साधन संचालन भएका छैनन् । बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे र बुर्तिवाङ लगायतका बजार बन्द छन् ।
बन्दले शैक्षिक संस्था, उद्योग र कलकारखाना पनि ठप्प छन् । दुई साता भन्दा बढी शैक्षिक संस्थाहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।











