१८ भदौ, काठमाडौं । प्रमुख चार दलबीच आज पनि छलफल भएको छ । संविधानको मस्यौदा एवं विधेयकप्रति असन्तुष्ट रहेका दलहरुका मागहरु सम्बोधन गर्ने विषयमा प्रमुख चार दलबीच छलफल भएको हो । विहीबार बसेको चार दलको बैठक सकारात्मक भएको भन्दै थप गृहकार्यका लागि शुक्रबार पनि बैठक बसेको हो । असन्तुष्ट मधेसी दल तथा थारु आन्दोलनको सम्बोधन गर्दै समयमै संविधान जारी गर्ने विषयमा बैठकमा छलफल भएको नेताहरुले जानकारी दिए ।

असन्तुष्ट दलहरुसँग वार्ता प्रक्रिया अगाडि बढाउनुका साथै संविधान जारी गर्ने मिति तोक्ने विषयमा समेत चार दल बैठकमा छलफल भएको छ । भदौ मसान्तभित्र संविधान जारी गर्ने मितिमा सहमति गरी समाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने तयारी चार दलका शीर्ष नेताहरुले गरेका छन् । संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय शनिबार सकिएपछि संविधान सभाको नियमावली बमोजिम मिति तोक्ने तयारी चार दलको छ ।











