१८ भदौ, काठमाडौं । थाइल्यान्डको साइकल रेसमा सहभागी हुन साइकल चोर्दा एभरेष्ट म्याराथन खेलाडी नवङदावा शेर्पा पक्राउ परेका छन्। थाइल्यान्डमा सन् २०१६ मा आयोजना हुने साइकल रेसमा सहभागी हुन प्रायोजक नपाएपछि साइकल चोरी गर्दा उनी प्रहरी फन्दामा परेका हुन्। पेडल स्पोर्टं साईकल पसलमा रहेको ७ लाख ५० हजार मूल्यको साइकल चोरीको आरोपमा उनी बुधबार पक्राउ परेका हुन्। प्रहरीले उनलाई चोरीको अभियोगमा हिरासतमा राखेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरमा रहेका उनले दिएको जानकारी अनुसार एभरेष्ट म्याराथनमा ३ पटक सहभागी भइसकेका उनी एक पटक दोस्रो भएका थिए भने २०७१ मा आयोजित लामाटार साइकल रेस र अन्नपूर्ण च्यालेन्ज याकरुमा प्रथम भएका थिए।
शेर्पाले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार सन् २०१६ मा थाईल्यान्डमा हुने साइकल रेसबारे थाई नागरिक साम सुदेङ्ग मामले जानकारी दिएपछि उनी सो रेसमा सहभागी हुन प्रायोजकको खोजीमा थिए।
पेडल स्पोर्टं साईकल पसलमा उनी साईकल मर्मतको काम गर्दै आएका थिए। थाइल्यान्डको रेसमा चाहिने साइकल सोही पसलमा देखेपछि उनले साइकल चोर्ने योजना बनाएका थिए। उनी मंगलबार बेलुका साईकलको पार्टपुर्जा खोल्न आवश्यक पर्ने सामान बोकेर पर्खाल नाघेर पसलभित्र छिरेर साइकल खोली ट्रेकिङव्यागमा प्याक गरेर लगेका थिए। मंगलबारको रात कपनमा रहेको डेरामा पुगेका उनी साइकल लिएर साँखु हुँदै सोलुखुम्बु हिंंडेको बेलामा काभ्रे प्रहरीले भकुन्डेवेसीमा पक्राउ गरेर काठमाडौं पठाएको हो ।











