१७ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकले “लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई, संशोधन गर्ने विधेयक, २०७१” र “केही नेपाल कानून संशोधन तथा खारेज गर्ने विधेयक, २०७१”लाई पारित गरेको छ ।

बैठकमा कानूनमन्त्री नरहरि आचार्यले यि दुबै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । पेश भएका दुबै प्रस्तावहरुलाई बैठकको सर्बसम्मतीले पारित गरेको हो ।
यसैबीच व्यवस्थापिका संसदको आजको बैठकले विभिन्न स्थानमा भएको घटनाहरु, त्यहाँ भएको भनिएको दमन, हज तीर्थ यात्रीका समस्या र तराईका केही भागमा सुख्खा भई कृषक मारमा परेकाले सरकारलाई यी विषयमा जानकारी दिन रुलिङ गरेको छ ।
बैठकमा सभामुख नेम्वाङले सरकारको ध्यानाकर्षण गराउँदै संसदको अर्को बैठकमा यि विषयहरुमा सम्बन्धित मन्त्रीहरुलाई जानकारी दिन रुलिङ गरेका हुन् ।
बैठकको शुरुमै समय मागेर बोल्दै राप्रपा नेपालका दिलनाथ गिरीले मेडिकल कलेजमा भएको भ्रष्टाचारको विषयमा संसदीय समिति बनाएर गम्भिर छलफल हुनु पर्ने माग गरे ।
त्यस्तै एमालेका संसद नगेन्द्र प्रसाद थारुले बारा र पर्सामा भएको आन्दोलनमा प्रहरीको गोली लागि ६ जनाको मृत्यु भएकोमा सरकारको ध्यान नगएको बताउनुभयो । प्रदर्शनकारीहरुले पनि एमालेका पार्टी कार्यालय तोडफोड गर्ने, गिरिजा, मनमोहनका शालिकहरुमा तोडफोड गर्ने काम गरेको भन्दै उक्त कार्यको उनले विरोध गरे ।
बैठकमा एमाओवादीका प्रभु साहले थारु, दलित, मधेशी आदिले अहिले जारी राखेको आन्दोलनमा दमन गरिएको भन्दै दमनले समस्याको समाधान नहुने भएकाले बार्ता र सम्बादका लागि पहल कदमी लिन सरकासँग माग गरेका थिए











