१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच थारु, मधेसी र जनजाति लगायतका माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ । आज बिहान एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निबासमा एमाले र एमाओवादीका शीर्ष नेताबीच बैठक बसेको हो । बैठकले थारु, मधेसी जनजाति लगायतका मागको संबोधन गरेर मुलुकलाई सकारात्मक दिशातर्फ लैजान सरकारलाई आग्रह गर्ने निर्णय गरेकोे छ ।
बैठकमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत उपस्थित थिए भने एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावल लगायतको उपस्थिति रहेको थियो ।
यसै विषयमा छलफल गर्न आज दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक पनि बस्ने भएको छ ।
त्यसैगरी आज बिहान एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई पनि भेटेका थिए । भेटमा थारु, मधेसी जनजाति लगायतका मागलाई सम्बोधन गरेर वार्ताको वातावरण बनाउन आग्रह गरिएको एमाओवादी नेता डा बाबुराम भट्टराईले जानकारी दिए ।











