१६ भदौ, वीरगंज । दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षामा कडाइ गरेपछि बुधबार वीरगञ्ज नगरक्षेत्र सुनसान बनेको छ । सीमापारीबाट आएका अराकतावादीहरु दंगाग्रस्त क्षेत्र घोषणा भएपछि मंगलबार नै भागाभाग गरेका थिए । कर्फ्युमा समेत विभिन्न कार्यालयमा आगजनी गरेका आयातित मानिसहरु दंगाग्रस्त क्षेत्र घोषणा भएपछि सेना परिचालन हुने आशंकामा सीमापारी पुगेकोले वुधबार वीरगंज अप्रत्यासित रुपमा शान्त रहेको स्थानीयहरुले बताए ।
सीमापारीबाट आएका मान्छेहरु फर्किएपछि स्थानीयको जनजीवन सामान्यतिर उन्मुख हुन लागेको बताइएको छ । सीमापारीबाट आएका मानिसहरु डराएर भागे पनि उनीहरुले सिमावर्ती भारतीय सहर रक्सोलमा पुगेर सीमावारी र पारीका मानिसहरुको कार्यक्रम गरे । उनीहरुले पेट्रोलिय पदार्थ ढुवानीमा अवरोध गर्ने धम्की समेत दिएका छन् ।
स्थानीय पोस्ट आफिस चोकमा नागरिक चेतना मंच र भारत नेपाल मैत्री संघको नाममा आयोजना गरेको भेलामा नेपाल सरकारले मधेसीमाथी दमन गरेको भन्दै अबिलम्ब बार्ता नगरिए रक्सोलबाट सम्पूर्ण ढुवानी बन्द गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले तराईमा प्रहरी प्रशासनले मानवाधिकारको उल्लंघन गर्दै चलाईरहेको गोलीबाट भारतीयहरुको नातेदारहरु पनि मर्ने भएकोले आफुहरु चुपलागेर नबस्ने धारणा व्यक्त गरेका थिए ।
केही मधेसी दलले मृतकलाई पचास लाख दिने घोषणा गरेर भाडामा मान्छे ल्याएर अराजकता मच्चाएको आरोप स्थानीयले लगाइरहेका बेला वीरगंजमा अचानक शान्ति हुनुले जनता आन्दोलनमा नरहेको वीरगंजकै एक पत्रकारले बताए ।
स्थानीय प्रशासनले वीरगञ्जको मुख्य बजार क्षेत्र र राजमार्गमा अनिश्चितकालीन कफ्र्युसमेत लगाएको छ । सोमबार र मङ्गलबार कफ्र्यु अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागेर वीरगञ्जमा ५ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शन चर्किएपछि पर्सा जिल्ला सुरक्षा समन्वय समितिले वीरगञ्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
प्रदेश सीमाङ्कनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाले आह्वान गरेको अनिश्चतकालीन बन्दको बुधबार १८ औं दिन हो । दङ्गाग्रस्त क्षेत्र घोषणा भएपछि नगर क्षेत्रमा प्रदर्शन भएका छैनन् । मङ्गलबारसम्म बढी प्रदर्शन भएका नगरका बाइपास, प्रतिमाचोक, लक्ष्मनवा, राधेमाई, नगवना, रानीघाट, मुर्लीलगायतका क्षेत्र सुनसान छन् । नगरक्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ । सडकमा सुरक्षाकर्मी, सञ्चारकर्मी र मानवअधिकारकर्मीका सवारी साधनमात्र देखिएका छन् ।
आपुर्ति सहज बनाउन वीरगन्जको मेनरोडबाट खाद्यान तथा पेट्रोलिय पर्दाथ लगायतको मालबाहक ट्रक गन्तव्य तर्फ पठाउनको लागि स्थानिय प्रशासनले केहि बेर सेना परिचालन गरेपछि स्थानियवासीहरु तर्सित भएको थियो । भंसारबाट छुटेको करिब २ सय ट्रकहरु सेना खटाएर गन्तव्य तर्फ पठाईएको छ । ढुवानीको लागि केहि बेर सेना परिचालन भएपछि वीरगन्ज वासी तर्सित भएका थिए । तर जिल्ला प्रशासन कार्यालय पर्साले सेना परिचालन नगरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सेना परिचालन भएको हल्ला चलेपनि वीरगञ्जमा सेना परिचालन नभएको बताउनु भयो । उहाले वीरगन्ज नाकामा रोकिएका मालवाहक गाडी स्कर्टिङ गरेर पठाउने क्रममा केही बेर सेनाले गस्तीमात्र गरेको बताउनु भयो । वीरगन्जस्थित नेपाली सेनाको बरख गणका गणपति प्रमुख सेनानी सुरेश हमालले पनि वीरगन्जमा सेना परिचालन नभएको बताउनु भयो । सवारी साधनको स्कर्टिङ भने सेनाले नै गरेको उहाले बताउनु भयो । कर्फ्यू जारी रहेकाले घर बाहिर ननिस्कन सर्वसाधरणलाई प्रहरीले चेतावनी दिईरहेको छ ।
मोर्चाका कार्यकर्ताले नगर क्षेत्रबाहिर प्रदर्शन गरेका छन् । प्रदर्शकारीले बुधबार बिहान गण्डक बहुअरीको बाईपास रोडमा रोकि राखेको एउटा ट्रकमा आगजनी गरेका छन् । उनिहरुले ना ४ ख ४९८४ नम्बरको ट्रकमा आगो लगाएका हुन् । आगजनीबाट ट्रकमा क्षति पुगेको छ । प्रदर्शनकारीले पर्साको तिलावे पुल नजिकै रहेको नेपाली काङ्ग्रेसमा स्वर्गीय नेता आत्मराम ओझाको शालिक तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले पर्साको पटेरवासुगौली इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
लगातारको बन्द, प्रदर्शन र कफ्र्युका कारण स्थानीय जनजीवन भने अत्यन्त कष्टकर बनेको छ । प्रहरी प्रशासनले वीरगञ्जबाट सुरक्षा घेरामा उपभोग्य बस्तु बाहिर पठाए पनि बजार बन्द हुँदा स्थानीयले उपभोग्य बस्तुको अभाव खेप्नु परेको छ । वीरगञ्जबाट बुधबार बिहानमात्रै २ सय ओटा उपभोग्य बस्तु र पेट्रोलियम पदार्थ बोकेका गाडी काठमाडौंका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
सामान ढुवानीकै लागि बारामा पर्ने विभिन्न सडकखण्डमा पनि निषेधाज्ञा लगाइएको छ । वीरगञ्ज– कलैया र त्रिभुवन राजपथको परवानीपुर–पथलैया खण्डमा निषेधाज्ञा जारी गरिएको छ । बारालाई पनि एक महिनाका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको र सुरक्षा चुनौतिलाई ध्यानमा राखी मुख्य बजार क्षेत्रमा कफ्र्यु लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
यो पनि पढ्नुहोस् :
आन्दोलनमा नगए १ हजार जरिवाना
बर्दियामा सहमति उल्ट्याएर प्रहरीमाथि आक्रमण, १ प्रहरीको मृत्यु













