१६ भदौ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा नेपाली नै हुन नदिने खतरनाक खेल भइरहेको बताएका छन् ।
पार्टीका जनसंगठनमा आवद्ध अगुवा कार्यकर्तालाई बुधबार पार्टी कार्यालयमा निर्देशन दिंदै अध्यक्ष ओलीले भने–कसैलाई जातका आधारमा,कसैलाई क्षेत्र वा समुदायका आधारमा र कसैलाई भुगोलका आधारमा परिचय भिराई दिने काममा केही शक्ति र व्यक्तिहरु लागि परेका छन् । ’
अध्यक्ष ओलीले नेपाली हुनुको गौरव र मुल पहिचानबाट तलमाथि पार्ने र अर्कै परिचय दिने प्रयास भइरहेको बताए । उनले भने–नेपाली नै सबैभन्दा ठूलो पहिचान र स्वाभिमान हो,अन्य विषय त्यसपछि आउँंछन् । हामी सबैले नेपालको एकता,अखण्डता र सफलता खोजौ र नेपाली हुनुको परिचय रोजौ । ’
देशका विभिन्न भागमा आन्दोलन होइन हिंसा भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने–आन्दोलनमा जनता नआएपछि हिंसा भड्काएर ध्यान तान्ने प्रयास भएको छ । हिंसालाई आन्दोलनको अर्थमा नबुझ्न र त्यसको भ्रममा नपरौं । ’ पार्टी कार्यकर्तामध्य कसैकसैलाई देशमा ठूलै आन्दोलन भइरहेको छ कि भन्ने भ्रम परेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने–हिंसा र आन्दोलन फरक कुरा हुन् । हिंसाले कसैको पनि हित हुँंदैन,त्यसका संवाहकहरुलाई पनि हानी नै गर्छ । ’
मुलुक संविधान निर्माणको निर्णायक चरणमा प्रवेश गरेको र चार प्रमुख शक्तिहरु एकतावद्ध भएर अगाडि बढेको अध्यक्ष ओलीको भनाई थियो । उनले भने–मुख्य राजनीतिक शक्तिका विचमा रहेको एकता नै संविधान निर्माण भइछाड्ने संकेत हो । ’
‘अहिले संविधान निर्माणको कामले जसरी गति लिएको छ,त्यसरी संविधान बन्न नदिने शक्तिहरु पनि सल्बलाएका छन् । ’अध्यक्ष ओलीले भने–ठूला र सम्मानित स्थानमा राखिएका संस्थाहरु पनि भाड्ने खेलमा लागेको अनुभव भएको छ । ’
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले एमालेमाथि चौतर्फी हमला भइरहेको बताए । उनले भने–संविधान निर्माण प्रक्रियाको एमालेले नेतृत्व लिएको छ,राष्ट्रिय एकता र सामुदायिक सद्भावको पक्षमा यही पार्टी उभिएको छ,त्यसैले यो पार्टीमाथि चौतर्फी आक्रमण भएको हो । ’
एमालेका नेता –कार्यकर्ता, कार्यालय आदिमाथि आक्रमण भएको उल्लेख गर्दै नेता नेपालले भने– कुनै पनि किसिमका भ्रममा नपर्न र दृढतापूर्वक प्रतिवाद गर्दै अगाडि बढौं । ’ नेता नेपालले पनि चार पार्टीवीच बलियो एकता बनेकोले संविधान आइछाड्ने विश्वास व्यक्त गरे ।












