१५ भदौ, वीरगंज । वीरगंजमा कर्फर्य तोडदै प्रदर्शन गर्नेहरु र प्रहरीबीच भएको झडपमा मंगलबार मात्रै चार जनाको मृत्यु भएको छ । मृत्य हुनेमा वीरगंजका सोहन शाह कलवार, वाराको नौतन निवासी दीनानाथ शाह, पर्साका भोला प्रसाद र धर्मराज सिंह रहेका छन् । वीरगंजको नगवा चोक, लक्ष्मणवा चोक र राधेमाईमा भएको झडपमा परी चार जनाको मृत्यु भएको हो ।
झडपमा तीन दर्जनभन्दा बढी घाइते भए पनि तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते प्रज्वल तिवारी, फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य अमिरीलाल राउत र अर्का एक जना पन्नलाल यादवलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
पर्सामा सोमबार साँझदेखि कर्फ्यु लगाइए पनि प्रदर्शनकारीहरुले विभिन्न कार्यालय तथा सवारी साधनमा आगजनी गरेका थिए । सोमबार एमाले पार्टी कार्यालय जलाएर गिरिजाप्रसाद कोइरालाको शालिक ढालेका प्रदर्शनकारीले मंगलबार आन्तरिक राजश्व कार्यलयका दुई सवारी साधन समेत जलाएका थिए ।
वीरगंजको प्रदर्शन अराजक भएको भन्दै मंगलबार स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि वीरगंज केही शान्त देखिएको छ । सेना तत्काल परिचालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल भैरहेको जनाइएको छ ।
सोमबारको झडपमा दिलिप कुमार चौरसियाको मृत्यु भएको थियो । सोमबार र मंगलबार मात्रै वीरगंजमा पाँच जनाको मृत्यु भएको छ ।












