१५ भदौ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्षहरुबीच आन्दोलनको विषयमा मतभिन्नता देखिएको छ । मधेशमा आन्दोलन चर्किदै गर्दा नेताहरुबीच देखिएको मतभिन्नताले दोस्रा तहका नेताहरु अलमलमा परेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेशमा आन्दोलन जारी रहेका बेला सोमबार दिउँसो जनकपुर एयरपोर्ट हुँदै काठमाडौं फर्केका छन् भने मंगलबार तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौं फर्किएका छन् ।
यादव काठमाडौं फर्किने वितिकै विभिन्न नेताहरुसँग छलफल गरेको बताइएको छ । यादव पुनः एमाओवादी अध्यक्ष प्रचण्डसँग सहकार्य गर्ने मुडमा रहेको बताइएता पनि यादवले उक्त कुराको खण्डन गरेका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बीरगंजमा भईरहेको आन्दोलनमा छन् । उनी आन्दोलन झन् चर्काउने पक्षमा देखिएका छन् ।
त्यस्तै तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादव कलैयामा छन् । उनको नेतृत्वमा विभिन्न कार्यालय तोडफोड गर्नुका साथै अन्य पार्टी कार्यालय जलाउने कार्य भैरहेको छ ।
फोरम नेपालका अध्यक्ष यादव काठमाडौं फर्केर मोर्चाका अन्य नेताहरुलाई फोन गरी मोर्चाको बैठकका लागि काठमाडौं आउन आग्रह गर्दैछन् । तर मोर्चाका अन्य घटकहरु मधेशमै मोर्चाको बैठक बस्ने भन्दै काठमाडौंबाट फर्किन यादवलाई नै आग्रह गर्दैछन् ।











