अभयकुमार राई
१५ भदौ, विराटनगर । संघीयता र सीमाकंनको विषयमा असन्तुष्टी जनाउँदै आएका मधेश केन्द्रित दलको अनिश्चितकालीन बन्दको कारण विराटनगरको जनजीवन प्रभावित हुदै गएको छ । सोही क्रममा मंगलबार विहानैदेखि संयुक्त मधेशी मोर्चाका बन्दकर्ताले विराटनगरको रोडशेष चोक, महावीर चौक लगायत अन्य स्थानमा यातायात बन्द गराउँदै आएका छन् । उनीहरुले उक्त स्थानमा टेन्ट राखेर नै बन्दको आव्हान गर्दै आएका छन् । उक्त स्थानमा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिती पनि रहेको छ ।
बन्द गराउने क्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका मोरंग अध्यक्ष अब्दुल कादिरले आफुहरुको माग पूरा नहुञ्जेल अनिश्चितकालीन बन्द जारी रहने बताएका छन् । बन्दकर्ताले सो सडक भएर गुड्ने मोटरसाईकलको समेत चाबी खोसेर राख्ने गरेका छन् । तथापी बजारको मुख्य सडकमा भने बन्दकर्ताको प्रभाव न्यून देखिएको छ । बन्दका कारण विराटनगरका शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार ठप्प रहेका छन् ।

जिल्ला टाफिक कार्यालय मोरंगका प्रहरी निरीक्षक विजय श्रेष्ठले भने सवारी साधान नचले पनि अवस्था सामान्य रहेको जानकारी दिएका छन् । प्रहरी निरीक्षक श्रेष्ठले बन्दका बावजुद गएराती ७२ वटा सवारी साधान विराटनगरबाट निर्धारित स्थानतर्फ सुरक्षित रुपमा पठाइएको जानकारी दिए । सोमबार मोटरसाइकलको चाबी खोस्ने क्रममा सुरक्षाकर्मीले विराटनगरका विभिन्न स्थानबाट करिब आधादर्जन बन्दकर्तालाई पक्राउ गरेको थियो ।













