अभय राई /नविन कर्ण
१४ भदौ, विराटनगर । तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले विराटनगरको रोडशेष चोकमा मकालु टेलिभिजनको कार तोडफोड गरेका छन् । अगाडि पछाडि दुवैतर्फ प्रेस लेखेको बा. १० च ३९३७ नम्वरको कारमा प्रदर्शनकारीको ढुङ्गा प्रहार पछि क्षति पुगेको छ । कारको पछाडि पट्टिको सिसा फुटेको छ भने प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा पनि कार भित्रै छ । कारमा सवार टेलिभिजनका निर्देशक दिपेश सुवेदी विराटनगर–१३ स्थित घरबाट कार्यालय आउँदै गर्दा आक्रमण भएको थियो ।
घटनाको विषयमा प्रतिक्रिया दिंदै आन्दोलनरत मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले घटनामा आफूहरुको संलग्नता नरहेको बताए । यता मकालु टेलिभिजनले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेको छ । प्रेसमाथि भएको कायरतापूर्ण आक्रमण अविलम्ब बन्द गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।











