१४ भदौ, काठमाडौं । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधान जारी गर्न अब एक छिन पनि ढिलाइ गर्न नहुने बताएका छन्।
संविधानको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै सिटौलाले भने, ‘अब ढिला गर्नु हुँदैन। जति ढिलो भयो, त्यति समस्या र जटिलता आउन सक्छन् । घटनाहरु हुनसक्छन् । हामीले ढिलो गर्दा जनताले अझै बढी दुःख पाउनसक्छन् । त्यसैलै जतिसक्दो छिटो संविधान जारी गरौं ।’

उनले संविधान निर्माणले निर्णायक गति लिएपछि एकथरी उत्तेजना फैलाउने काम र जनता भड्काउने काममा लागेको बताउँदै भने, ‘आखिर जनताले दुःख पाइरहेका छन् । हामीले जनतालाई कति दुःख दिने ?’
दलहरुले आफूले गर्न खाजेको राम्रो प्रयासको सन्देश दिन नसक्दा जनता अन्योलमा परेको बताउँदै भने, ‘हामीले अझै पनि बुझाउन सकेनौं कि । यसतर्फ दलहरुले ध्यान दिनुपर्छ।’
उनले असन्तुष्ट रहेका दल तथा पक्षहरुलाई पनि प्रक्रियामा सहभागी हुन आग्रह गर्दै भने, ‘बाहिर गएर समाधान भेटिदैन। संविधानसभाभित्रै समाधान खोज्ने हो। यही बहस र विवाद गरेर समाधान निस्कनसक्छ। बहिष्कार गरेर वा अवरोध गरेर होइन ।’
उनले सर्वसम्मत हुने अवस्था नरहेको बताउँदै अव प्रक्रियामा गएर संविधान जारी गर्नुबाहेक अर्को विकल्प नरहेको बताए।सबैका माग र चाहना एकैपटक पुरा हुननसक्ने बताउँदै केही विषयलाई संशोधनबाट पनि समेट्न सकिने बताउँदै भने, – ‘अब विरोधी पक्षहरु संविधानको प्रक्रियामा सहभागी हुनुबाहेक अर्को विकल्प छैन।’











