११ भदौ, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ।
बर्दिबास नगरपालिका-१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर-जलेश्वर-काठमाडौँ चल्ने ना ५ ख ४९९४, गौशाला-सम्सी-काठमाडौँ चल्ने ना ५ ख २६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११:२० बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
बर्दिबासको भोला वसन्त चौकदेखि तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना ५ ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना ५ ख २६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए।
खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो। इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ। रासस











