१० भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले आफू सम्बद्ध मधेसी राष्ट्रिय मुक्ती मोर्चा (क्रान्तिकारी)लाई अलग्गै मधेस आन्दोलन गर्न लगाएको छ । मोर्चाले विहीबार काठमाडौं पत्रकारसम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।
मोर्चाले विहीबार पत्रकर सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२ गते मधेसका जिल्लाहरुमा बैठक तथा पत्रकार सम्मेलन गर्ने, भदौ १३ र १४ गते भेला, कोणसभा र सभाहरु गर्ने र भदौ १७ गते मधेसका सबै ग्रामिण ईलाकामा मसाल जुलुस तथा सदरमुकाममा बृहद जनप्रर्दशन गर्ने रहेको छ । मोर्चाले आन्दोलनमा मृत्यू भएकोलाई शहिद घोषणा, घाईतेको उपचार, सेना परिचालन फिर्ता गर्नु पर्ने, पहिचानको आधारमा मधेसमा दुई प्रदेश र जनसख्याको आधारमा समानुपतिक समावेशी, मधेसी, दलित , थारु, मुस्लिम र महिलाका लागि केन्द्र र प्रदेशमा अलग अलग आयोग गठन लगाएतको मागसहित आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पोलिटब्यूरो सदस्य प्रभु साहले राज्यले दमन गरेर समाधान खोजेकोले स्थिति असहज बनाएको भन्दै तत्काल सेना परिचालन फिर्ता गरेर बार्ताबाट समाधान खोज्न आग्रह गर्नुभयो ।











