७ भदौ, कैलाली । सोमबार कैलालीमा भएको हिंसात्मक घटनामा आठ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । विभिन्न संचारमाध्यममा चौबीस जनाको मृत्यु भएको भनी आएको खबर असत्य भएको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार राति अबेर प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।
गलत समाचार संचारमाध्यममा सम्प्रेसषण भएको बारे कैलालीका पत्रकार जयराज न्यौपानेले प्रहरी अधिकारीबाट नै गलत जानकारी आएकोले संचारमाध्यममा गलत समाचार सम्पे्रेषण भएको बताए । कैलाली प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खडकाले संचारकर्मीलाई चौबीस जनाभन्दा बढीको मृत्यु भएको जानकारी दिएको न्यौपानेले बताए । झडपपछि विभिन्न स्थानमा लडेका व्यक्ति तथा अस्पतालसम्म ल्याइएका सबै सुरक्षाकर्मीको मृत्यु भएको हुनसक्ने आशंकामा खडकालेले सो समाचार सम्प्रेषण गरेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीले दिएको जानकारीअनुसार ७ जना सुरक्षाकर्मी र एक जना दुई वर्षे बालकको मृत्यु भएको छ । दुई वर्षे बालक भिडन्तमै मृत्यु भएका एक प्रहरी हवल्दारका छोरा भएको जनाइएको छ ।

अहिले कैलालीमा तीन सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिको आदेशमा जिल्ला सुरक्षा समितिको बैठक बसेर सेना समेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।











