७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमवारदेखि थप माग सहित छैठौं पटक आमरण अनशन बसेका छन् । चिकित्सक केसीले ८ बुँदे माग सहित सोमवार चार बजेदेखि पत्रकार सम्मेलन गरी आमरण अनसन सुरु गरेका हुन् ।
अनशन बस्नुभन्दापहिले गरिएको पत्रकार सम्मेलनमा उनले सरकारले पटक पटक धोका दिएकोले यसपटक आफूले माग पूरा नभएसम्म अनसन नतोड्ने बताए । सरकारले माग सम्वोधन नगरे नेपाली जनता सरकारविरूद्ध लड्ने र माग पूरा गराउन बाध्य बनाउने विश्वास उनले व्यक्त गरे । उनले वेथिति विरूद्ध लड्ने हरेक नेपाली नागरिकको कर्तव्यअनुसार आफू पनि बेथितिविरूद्ध लडेको केसीको भनाइ थियो ।

मेडिकल शिक्षालाई व्यवस्थित बनाउन र माफियाको अन्त्य गर्न माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रीपरिषद्ले गर्नुपर्ने माग उनको छ ।
दुर्गम क्षेत्रमा शिक्षण अस्पताल निर्माण प्रक्रिया तीब्र बनाउनुपर्ने, जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई अविलम्ब व्यवस्थापन गरी उक्त मेडिकल कलेजका पूर्व सञ्चालकहरुलाई कानून बमोजिम कारबाही गर्नुपर्ने लगायतको माग पनि डाक्टर केसीले अगाडि सारेका छन् ।











