७ भदौ, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आहवान गरेको अनिश्चिकालीन आम हडतालको सोमवार दशौं दिन रौतहट सदरमुकाम गौर झडप हुँदा दर्जनौ राउण्ड गोली चलेको छ । दिनभर प्रर्दशनकारी र सुरक्षाकर्मीहरु विच झड्प भयो । मोर्चाका कार्यकर्ताहरुले विहानैदेखि उत्तेजित बन्दै तरबार जुलुश प्रदर्शन गर्दै मालपोत, नापी, जिल्ला अदालतमा तोडफोड गरेपछि सुरक्षाकर्मी संग झड्प सुरु भएको थियो । गौर भन्सार, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीहरु विच दोहोरो झड्प भएका हो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु विच भईरहेको झड्पको क्रममा प्रहरीले करिव ५० राउण्ड भन्दा बढी रबरको गोली र एक सय राउण्ड भन्दा बढि टियरग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीहरु विपी चोकमा रहेको विपीको शालिका र पर्खाल सहितका पार्कलाई तोडफोड गरेका छन् । यता झड्पको क्रममा प्रहरीको गोलीको छर्रा लागेर गौरका भुषण मिश्र घाइते भएको छन् भने प्रहरीको कुटाईबाट १० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार रामप्रवेश यादव सहित पाँच जना सरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी उपरिक्षक विदुर खड्काले बताए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै गएपछि बाध्य भएर प्रहरीले बल प्रयोग गर्नुपरेको तथा स्थितिलाई नियन्त्रणमा लिन सोमवार दिउसो ४.३० बजेदेखि मंगलबार विहान ५ बजे सम्मका लागि कर्फयु आदेश जारी गरेको बताए । कर्फयुको अवज्ञा गर्दै प्रदर्शन भने भै रहेको छ ।
यसैबीच गृहमन्त्री वामदेव गौतमले संसदमा बोल्दै रौतहटका सरकारी कार्यालय तोडफोड गर्न दक्षिणतिरबाट आक्रमणकारी आएको सीमापारीबाट मानिसहरु आएको संकेत गरे ।











