७ भदौ । कैलाली घटनामा एसएसपीसहितको सुरक्षाकर्मीको टोलीलाई स्वायत्त थरुहट प्रदेश पक्षधरले आगो लगाएर हत्या गरेको खुलेको छ । व्यवस्थापिका संसद बैठकमा गृहमन्त्री वामदेव गौतमले सम्बोधन गर्दै एसएसपी लक्ष्मणप्रसाद न्यौपानेलाई भाला रोपेर हत्या गरेको गौतमले जानकारी दिए । त्यस्तै अन्य कतिपय सुरक्षाकर्मीलाई आगो लगाएर र काटेर हत्या गरेको समेत उनले बताए । गौतमले संसदलाई सम्बोधन गर्दै दंगाग्रस्त क्षेत्रमा संकटकाल घोषणा गरेर सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको समेत प्रष्ट पारे ।

प्रदर्शनकारीले सरकारी कार्यालयका बोर्ड झिकेर स्वायत्त थरुहटका बोर्ड राख्न खोज्दा झडप भएको थियो । एक समूहले बोर्ड झिक्ने र अर्को समूहले आक्रमण गर्ने योजना बनाएर सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । मनुवामा पुगेको एसएसपी लक्ष्मणप्रसाद न्यौपानेको टोलीलाई आक्रमणकारीले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । ठूलो संख्यामा आएका प्रदर्शनकारीले बन्चरो, भाला र लाठी लिएर आएका थिए । आक्रमणबारे विस्तृत विवरण अझै आउन बाँकी छ ।











