७ भदौ, काठमाडौं । आदिवासी जनजाति महासंघले गरेको दुई दिन नेपाल बन्द प्रभावहीन भएको छ । आइतबार नै न्युन प्रभाव देखिएको बन्द सोमबार भने पूर्णतः प्रभावहीन बनेको छ । यद्यपि त्रासका कारण राजधानीका कतिपय ठूला निजी विद्यालयहरु भने आइतबार पनि बन्द रहे । आइतबार बन्द प्रभावहीन रहेका कारण सोमबारको बन्द स्थगित हुनसक्ने आंकलन धेरैको भए पनि महासंघले बन्द स्थगित गरेन । बन्द स्थगित नभए पनि सोमबार विहानैदेखि राजधानीको जनजीवन सामान्य रहेको छ । सडकमा सवारी साधन बाक्लो रुपमा छन् भने पसलहरु समेत खुलिसकेका छन् ।
तराई क्षेत्रमा भने असन्तुष्ट मधेसी दलको समेत बन्द रहेकाले बन्दको प्रभाव देखिएको छ । पश्चिम तराई बाँके वर्दियामा आइतबारदेखि बन्दको प्रभाव न्युन बनेको छ । पश्चिम तराईमा आइतबारदेखि विद्यालय तथा क्याम्पस खुलेका छन् ।
संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले दुई दिने बन्दको घोषणा गरेको हो ।
विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएकोले विरोधस्वरुप बन्दको कार्यक्रम राखिएको महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले नेपालदेश डट कमलाई जानकारी दिए ।
(विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोसः यसकारण २ दिने बन्द : महासंघ)
पहिचानका पाँच आधार सामाथ्र्यका चार आधारलाई बेवास्ता गर्दै तीन दलका नेताले आफ्नो व्यक्तिगत स्वार्थअनुसार संघीय प्रदेश बनाउन खोजेको आरोप जनजाति महासंघले लगाएको छ । जागिरमा जनजातिलाई समावेशी र आरक्षणको व्यवस्था नयाँ संविधानमा गर्नुपर्ने माग जनजाति महासंघले गरेको छ ।
आइतबार र सोमबार राजधानीमा कतैकतै सानो समूहमा बन्दकर्ताहरु देखिए पनि तिनले सवारी साधन रोकेर अवरोध पुर्याउन सकेनन् । बन्दकर्ताले सवारी साधनमा क्षति पुर्याउन सक्ने भएको सोमबार पनि प्रहरीहरु परिचालन गरिएको छ ।












