
मृतक हरिबहादुर कुँवरसँग नेता भट्टराई
६ भदौ, काठमाडौं । स्वायत्त कर्णाली प्रदेशको माग सहितको आन्दोलनमा घाइते भई काठमाडौंमा उपचाररत हरिबहादुर कुँवरको मृत्यु भएको छ । त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका २४ बर्षीय युवा हरिबहादुर कुँवरको गत राति मृत्यु भएको हो । कुँवरको मृत्यु भएलगत्तै एमाओवादी वरिष्ठ नेता पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई शिक्षण अस्पताल पुगी कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
भट्टराईले आफ्नो फेसबुकमार्फत कुँवरलाई सहिद भनी सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका छन् :
‘स्वायत्त कर्णाली प्रदेशको माग सहितको आन्दोलनमा जुम्लामा गोली लागी आज काठमाण्डौ टिचिंग अस्पतालमा शहादत प्राप्त गर्नुहुने २४ बर्षीय युवा हरिबहादुर कुँवरप्रति हार्दिक श्रद्धांजली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु !
जनताको जायज माग र ऐतिहासिक आवश्यकता अनुरुप वेलैमा स्वायत्त कर्णाली प्रदेश घोषणा नगरी एक होनहार युवाको अमूल्य ज्यान गएकोमा गहीरो दुःख व्यक्त गर्दछु ।’
जुम्लाको ताम्ती गाविसका वासिन्दा कुँवरलाई गत साउन ३१ गतेको जुम्लाको आन्दोलनमा प्रहरीको गोली लागेको थियो । कुँवरलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने अडानमा जुम्ला घर भएका पत्रकार मनऋषि धितालले नेपालदेश डट कमलाई दिए ।
नेता भट्टराईले आइतबार नै जुम्लाको आन्दोलनमा घाइते भएका अन्य दुई व्यक्तिको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका छन् । जुम्लाका सन्तोष थापा र पविता महतराको उपचार शिक्षण अस्पताल महाराजगंमै भइरहेको छ ।
रुपन्देहीको भैरहवामा विहीबार भएको झडपमा मृत्यु भएका सुनिल यादवको आज शवयात्रासहित अन्तिम संस्कार गरिने भएको छ । आइतबार स्थानीयप्रशासन र आन्दोलनकारी पक्षधरबीच सहमति भएपछि बन्दकर्ताहरुले शव बुझेर अन्तिम संस्कार गर्न सहमत भएका हुन् । यादवका परिवारलाई क्षतिपूर्ति दिने भएपछि बन्दकर्ताहरु सहमत भएका हुन् । विहीबारको रुपन्देही बन्दमा स्थानीयवासीले प्रतिकार गर्दा लुम्बिनी सांस्कृतिक नगरपालिका १० का यादवको मृत्यु भएको थियो । झडपमा घाइते भएका अन्य दुई जनाको उपचार काठमाडौंमा भइरहेको छ ।













