६ भदौ, काठमाडौं । आदिवासी जनजाति महासंघले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा सामान्य रुपमा मात्रै परेको छ ।
अन्य दिनका तुलनामा कम सवारी साधन चलेका छन् तर सडकमा निजी तथा सार्वजनिक सवारी साधन यथेष्ट रुपमा गुडिरहेका छन् । सवारी आवागमनमा कुनै पनि समस्या छैन । यद्यपि सुरक्षाकर्मीहरुले चोकचोकमा बसेर निगरानी गरिरहेका छन् । भित्री सडकहरुमा समेत प्रहरीले गस्ती गरिरहेको छ ।

राजधानीका पसलहरु समेत खुल्ला छन् । आंशिक पसल भने विहान अलि ढिलो गरी खुलेका छन् ।
चिया तथा खाजा पसल विहानैदेखि खुल्ला रहे पनि अन्य पसलहरु दश बजेपछि खुलेका छन् ।
राजधानीका अधिकांश विद्यालयहरु समेत आइतबार संचालन भएका छन् । उपत्यकाकाका ठूला विद्यालय संचालन हुन नसके पनि मध्यम तथा भित्री विद्यालयहरु सुचारु छन् ।

सामुदायिक विद्यालय भने यथावत नै संचालनमा छन् । सडकमा विहान विद्यालय जाँदै गरेका विद्यार्थीको संख्या बाक्लो देखिन्थ्यो ।
राजधानीका मुख्य चोकमा व्यावसाय गर्ने तथा सडकमा तरकारी वेच्ने तथा मकै पोल्ने सर्वसाधारहरु पनि विहानैदेखि नियमित व्यापारमा लागेका छन् । काठमाडौंको मिनभवनमा सडकमा तरकारी बेच्ने तथा मकै पोल्ने महिलाहरुले नेपाल देश डट कमलाई प्रतिक्रिया दिंदै भने – ‘यस्तो बन्द पनि के बन्द ।’















